बर्दियामा माओवादी केन्द्रद्वारा ३ उम्मेदवार सिफारिस
जनता समाचार बर्दिया — आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि बर्दियामा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । लुम्बिनी प्रदेशका आन्तरिक तथा सञ्चार मन्त्री तिलक शर्मा, बारबर्दिया नगरपालिकाका पूर्वमेयर दुर्गाबहादुर थारु र उपमेयर अन्जु दहितको नाम सिफारिस भएको माओवादी केन्द्रका पार्टी सचिव लक्ष्मीप्रसाद शर्माले बताए । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले एक जनाको नाम बहुमतबाट सिफारिस गरेको छ । सिफारिस परेका समाजसेवी र कोरानाकालमा सबैभन्दा बढी स्वास्थ्य सामग्री नि:शुल्क रूपमा सहयोग गरेका सुरेश पन्थ रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २(ख) मा प्रदेश सभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ चिन्तामणि आचार्य सिफारिस भएका छन् । माओवादी केन्द्र संघीय निर्वाचन क्षेत्र नम्बर २ समन्वय समितिले सोमबारको बैठकले पन्थको नाम सर्वसम्मतिबाट निर्णय गरेको पार्टी सचिव शर्माले जनाए ।