राजापुरमा मेयर दिपेश थारुको अर्को डोज


राजापुर नगरपालिका भित्र उल्लिखित बाटाे छेउका घर पसलमा डोजर चल्ने पक्का भयो
 

शक्ति परियार 
राजापुर, १७ भदौ/बर्दियाको राजापुर नगरपालिकाका नव निर्वाचित मेयर दिपेश थारु राजेशले राजापुर मूल बजारमा डोजर चलाउने भएका छन् । पालिकाले गत २०७८ साल साउन १४ गते घरटहराहरु हटाउने विषयमा प्रथम पटक ३५ दिने सूचना प्रकाशित गरेको थियो । सूचनामा राजापुर मूल भन्सार चोक देखि प्रविण मेडिकल हल सम्मको सडक क्षेत्रमा सडक कालोपत्रे र ढल निकासको काम साथ साथै गर्नु पर्ने भएकाले रिङ्गरोड सडकको मापदण्ड अनुसार सडक केन्द्रबाट दुवै तर्फ १५/१५ मिटर भएता पनि, हाल सडक केन्द्रबाट दुवैतर्फ ३०/३० फिट खानेपानी तथा अन्य प्रायोजनका लागि १/१ फिट छाडी त्यस भित्र सडक तथा ढल निकासको कार्य चालु आर्थिक वर्ष देखि नै सुरु गरिने बताइएको थियो । 
तत्कालिन राजापुर नगरपालिकाका मेयर शिव प्रसाद थारुले घरटहराहरु हटाउने सूचना पटक पटक प्रकाशित गरेपनि निर्माणको कार्य भने अहिले सम्म भईसकेको थिएन । वर्तमान मेयर दिपेश थारु राजेशले राजापुर क्षेत्रमा गर्नै पर्ने अतिआवश्यक कार्य तुरुन्त थालनी गर्ने बताएका छन् । राजापुर भन्सार चोक देखि प्रविण मेडिकल सम्म साँघुरो देखिने बाटो भोली देखि नै फराकिलो देख्न पाईने स्रोतले जनता समाचारलाई जनाएको छ । पूर्व मेयरले समय भ्याएर वा वास्तै नगरेर अधुरो राखेको यो काम वर्तमान मेयर थारुले गर्ने भएका हुन् । बाटो फराकिलो गर्न छेउछाउका घर तथा पसलहरुमा डोजर चल्ने भएपछि स्थानीय चिन्तित भएका छन् ।

 त्यस्तै गत वर्ष माघ २६ गते प्रकाशित सूचना अनुसार ४ नं. वडा राजापुरमा रहेको रिनेसाँ बोर्डिङ्ग स्कूल देखि शान्तिपुर चोक हुँदै वर पिपल सम्मको बाटो १४ मिटर भित्र निर्माण तथा कालोपत्रे गर्नु पर्ने भन्दै पालिकाले अर्को सूचना प्रकाशित गरेको थियो । 

सूचना प्रकाशित भएको लामो समय वितिसक्दा पनि कुनै कार्यवाही अगाडी बढेको थिएन । राजापुर नगर क्षेत्र विकासका लागि आफु जस्तो सुकै अवस्थामा पनि तत्पर रहेको मेयर थारु बताउँछन् । पदभार सम्हालेको थोरै समयमै चकित पार्ने निणर्य लिदैं आएका मेयर थारुले चलाएको डोजरले कस्तो प्रतिफल दिने हो नगरवासी उत्सुक भएको स्थानीय जानकारहरुको धारणा छ ।

Comments