राजापुरमा बर्दियाकै कान्छो रेडियो स्थापना हुँदै
शक्ति परियार
राजापुर २४,भदौ/स्थापित रेडियोहरु धमाधम बन्द भइरहेका बेला बर्दियाको राजापुर स्थित जिल्लाकै कान्छो रेडियो स्थापना हुने भएको छ । राजापुरमा रहेको साथी एफएमका प्रबन्ध निर्देशक केशव कोइरालाले आफ्नै नेतृत्वमा रेडियो बर्दिया एफएम स्थापना गर्न लागेका हुन् ।
पूर्व कार्यरत संस्था रेडियो साथी एफएमसंग विभिन्न समयमा विवादित बन्दै गएका कोइरालाले अबको केही दिनमै परिक्षण प्रशारण प्रारम्भ हुने जनता समाचारलाई बताए । उनले भने — ‘रेडियोबाटै समाज रुपान्तरणमा अझै धेरै गर्न सकिन्छ भन्ने मेरो विश्वास र आम नागरिकको पक्षमा बोल्ने हुटहुटीले करीब ३ महिना पछि फेरि रेडियोसंग जोड्यो ।’
उनले भने — ‘वर्तमानमा स्थापित रेडियोहरु धमाधम बन्द भइरहेका बेला नयाँ रेडियो स्थापना गर्नु कम चुनौतिपूर्ण छैन । त्यो चुनौतिलाई आम नागरिकको साथ लिएर परास्त गर्ने आँट, भरोसा र जाँगरका साथ मेरो नेतृत्वमा जिल्लाकै कान्छो रेडियोको रुपमा बर्दिया एफएमको राजापुर नगरपालिका वडा नं. ४ मा स्टेशन कार्यालय स्थापना गरी परीक्षण प्रसारण सुरु हुँदैछ ।’
विभिन्न समयमा आफुमाथी हुनेगरेका विवाद तथा आरोप सहनु परेको बताउँदै कोईरालाले भने —‘रेडियोसंग जोडिएर यदाकदा म माथि उठेका सबैखाले प्रश्नको जवाफ अब रेडियो बर्दियाको प्रसारणले दिनेछ ।’
वि.सं.२०५७ सालमा कैलालीको साबिक बलिया स्थित जनजागृती माध्यामिक विद्यालय चौरीबाट एसएलसी उर्तीण गरेका कोइरालाले रेडियो नेपालका तत्कालीन समाचार प्रमुख गोपाल बस्नेतकै संरक्षणमा रही मेट्रो एफएममा रेडियो काठमाण्डु टाइम्स मार्फत रेडियो कार्य प्रारम्भ गरेका हुन् । वि.सं.२०५९ साल बाट प्रयास नामक पत्रिका मार्फत पत्रकारिताको कलम चलाउन सुरु गरेका कोइरालाले आर आर क्याम्पस काठमाण्डुबाट आम संचार तथा राजनीति शास्त्रमा स्नातक गरेका छन् । कैलालीको लम्की चुहा ७ स्थायी घर भएका कोइराला बर्दियाको राजापुरमा विगत १० वर्ष देखि पत्रकारीता गर्दै आएका हुन् ।
१ दर्जन बढी रेडियो, १ दर्जन बढी पत्रपत्रिकामा लामो समय काम गरेका कोईरालाले समाचार लेखन मात्रै नभई कुशल पत्रकारिता तथा उद्घोषणकला प्रशिक्षक, श्रव्य दृश्य निर्माण लगायत क्षेत्रबाट समेत उच्च सम्मान पाउँदै आएका छन् । राजापुर स्थित रहेको रेडियो साथी एफएमको परिकल्पनाकार कोइराला इमेज टेलिभिजनको बर्दिया संवाददाताको रुपमा समेत कार्यरत छन् ।
अबको केही दिनमै परिक्षण प्रसारण हुन लागेको रेडियो बर्दिया एफएमले स्रोताहरुको चाहना अनुरुप कार्यक्रम प्रसारण गर्ने प्रबन्ध निर्देशक केशव कोइरालाले जनता समाचारलाई बताए ।





Comments
Post a Comment