आम्दानीको स्रोत बन्यो तरकारी व्यवसाय

आफुले उत्पादन गरेको तरकारी बाली देखाउँदै महिला कृषक निर्मला थारु ।
शक्ति परियार १२,फाल्गुन / दिनहुँ बढ्दै गएको महँगाईले दिक्क बनाउन थाले पछि स्थानीय महिलाहरुले तरकारी व्यवसायलाई आम्दानीको स्रोत बनाएका छन् । कम समयमा उत्पादन गर्न सकिने तरकारी जन्य वस्तुहरु उत्पादन गर्दै स्थानीय बजारमा महिला कृषकहरुले राम्रो आम्दानी बटुलिरहेका छन् ।
राजापुर क्षेत्रका चक्खापुर,मुर्गहवा,छेदिया लगायतका क्षेत्रबाट केही महिलाहरुले उदाहरणीय कार्य गरेका छन् । परिवारमा आम्दानीका स्रोत नभएको र वर्षेनी नदि कटानको चपेटामा पर्दै आएका कृषकहरुले बेमौसमी तरकारी खेतीलाई अँगालेका छन् । सानो लगानीमा धेरै मात्रामा उत्पादन गरिएका ब्रो काउली, बन्दा, टमाटर,करेला,लौकी,काँक्रा, खुर्सानी,भान्टा लगायतका तरकारी जन्य वस्तुहरुमा कृषकहरुले उचित मुल्य नपाएको राजापुर नगरपालिका वडा नं. १ मुर्गहवाका महिला कृषक निर्मला थारुले बताईन । निर्मलाले आफुसंग भएको १० कट्ठा जमिनको ४ कट्ठामा तरकारी खेती गर्दै आएको ५ वर्ष भयो । तरकारी व्यवसायमै यो ५ वर्ष निर्मलाका लागि उदाहरण नै भएको उनको भनाई छ । निर्मलाले भनिन्—‘हामीले उत्पादन गरेको तरकारी हामी आफै टाउकोमा बोकेर गाउँ गाउँमा लगेर बेच्ने गरेका छौं तर अन्यत्र बजार सम्म लैजान हामीसंग कुनै सवारी साधन छैन’। स्थानीय गाउँ घरमा तरकारीहरु सस्तो भाउमा बेच्ने गरेको र मिहिनेत अनुसारको उचित मुल्य नपाएको निर्मलाले दुखेसो पोखिन ।  सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सि.एस.डि.आर.)ले दिएको तरकारी खेती तालिमबाट जिविको पार्जनमा निकै राहत भएको र आगामी दिनहरुमा थप जमिनमा तरकारी खेती गर्ने निर्मलाले बताईन् । सिजनेवाली भन्दा बेमौसमी तरकारीबाट जिविको पार्जन गर्न सहज वातावरण भएको मुर्गहवाकै अर्का मिना देवि थारुले बताईन । तरकारी व्यवसायमा आम्दानी राम्रो हुने भएपछि सोही गाउँका समसेरिया थारुले पनि टनेलमा टमाटर र काउली रोपेकी छन् ।त्यस्तै सिजने बाली भन्दा बेमौसमी तरकारी व्यवसायबाट बार्षिक रुपमा लाभ लिन सक्ने भएपनि राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका कृषकहरुलाई उत्पादन गरेका तरकारीहरु बजारसम्म पु¥याउन कुनै साधनको व्यवस्था नभएको गेरुवा गाउँपालिका वडा नं. ३ सोनाहा गाउँ लोहारपुरका गंगाराम थारुले बताए । कर्णाली नदिबाट वर्षेनी बाढीको मार खेप्दै आईरहेका कृषकहरुले वर्षभरीको मिहिनेत खेर मात्रै जाने बाहेक अर्काे विकल्प नदेखेपछि तरकारी व्यवसाय तर्फ आकर्षित भएको बताउँछन् । सिजने बाली वर्षमा २ पटक लगाईन्छ त्यो पनि फल्छ वा बाढीले लैजान्छ भन्ने चिन्ता रहीरहने भएको हुँदा कम समयमै तरकारीबाट आम्दानी लिन सकिने भएको सोनाहा गाउँका अर्का कृषक रामअवतार थारुले बताए ।उत्पादन गरिएका तरकारी बजारसम्म लैजान त सकिदैन तर पनि वार्षिक १ लाख देखि १ लाख ५० हजार सम्म आम्दानी भईरहेको रामअवतार बताउँछन् । स्थानीय बजारमा साईकल वा टाउकोमा बोकेर तरकारी बेच्ने गरेपनि टाढा सम्म लैजान कुनै साधन नभएको रामअवतार बताउँछन् । सोनाहा गाउँमा मात्रै ७ जना कृषकहरुले तरकारी खेती तालिम लिएका छन् । सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सि.एस.डि.आर.) संस्थाले बाढीबाट प्रभावित हुने क्षेत्रहरुमा आय आर्जनका लागि बेमौसमी तरकारी खेती तथा विभिन्न सीपमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । (सि.एस.डि.आर.)ले  संचालन गरेको सो तालिमबाट कैलालीको टीकापुर नगरपालिका,जानकी गाउँपालिका र बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका अन्तर्गत कर्णाली नदि क्षेत्रका बाढी प्रभावित स्थानीय कृषकहरु लाभान्वित भएका छन् ।

Comments