बर्दियाको राजापुरमा हाटबजार व्यवस्थित बनाउन आग्रह,भाडा महंगो भयो
राजापुर हाटबजार व्यवस्थित बनाउन स्थानीयको आग्रह
बर्दियाको राजापुरमा लामो समय देखि संचालित कृषि हाट बजार व्यवस्थित बनाउन स्थानीय उपभोक्ताले आग्रह गरेका छन् । राजापुरमा रहेको हनुमान मन्दिरको परिसरमा प्रत्येक साताको मंगलबार र शनिबार लाग्ने कृषि हाट एकै ठाउँमा नभएर अव्यवस्थीत रुपमा लाग्ने गरेको स्थानीयले बताए । स्थानीय कृषकहरुले उत्पादन गरेका तरकारी जन्यवस्तुहरु किनबेच गरिने हाटमा बर्षातको समयमा व्यापारी र उपभोक्ता बिच निकै चुनौती बन्ने गरेको छ । हाट बजार व्यवस्थापन समितिले हाटका लागि निर्माण गरेका २ वटा टहराहरु मात्रैैले सम्भव नभएको अवस्था रहेको छ । व्यवस्थापन समितिले भर्खरै मात्रै निर्माण गरेको टहरामा महंगो भाडा भएको व्यापारीहरुले बताएका छन् । नयाँ बनेको टहरा कृषि कार्यालयको सहयोगमा निर्माण गरिएपनि टहरामा बस्ने व्यापारीबाट झण्डै ३ हजार मासिक भाडा तोकिएको स्रोतले बताएको छ । मंगलबार लागेको हाटमा एक व्यापारीले भने—“टहरामा महिनाको ३ हजार भाडा तिर्नु भन्दा पाल टाँगेर बस्नु नै जाती छ ”। यो हाटमा राजापुर क्षेत्रका मात्रै नभएर कैलालीका विभिन्न क्षेत्रहरुबाट पनि कृषकहरुले तरकारीजन्य वस्तुहरु ल्याएर बिक्रि गर्ने गरेका छन् । वर्षातको समयमा व्यापारीहरुले तरकारीजन्य वस्तुहरु सुरक्षित राख्न नसकेको तरकारी व्यापारी हिरा चौधरीले बताए ।
मन्दिर परिसरमा रहेको हाट एकै ठाउँमा भएको भए व्यापारी र उपभोक्ता दुवैलाई सहज हुने अर्का व्यापारी हरी चौधरीले बताए । यता स्थानीयले उत्पादन गरेका तरकारी जन्य वस्तुहरु हाटमा बजारभाउ भन्दा महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । बजारभाउ भन्दा हाटबजारमा सस्तो हुनुपर्ने स्थानीय उपभोक्ताहरुले गुनासो गरेका हुन् । हाट बजार व्यवस्थापन समितिले हाटमा बिक्रि गरिने तरकारी जन्य वस्तुहरुको बजार भन्दा केही सस्तो दरभाउ कायम गर्नु पर्ने स्रोतले बताएको छ । साताको २ पटक मात्रै लाग्ने हाटमा प्यापरी प्रतिदिन १ सय रुपैयाँका दरले भाडा तिर्नु महंगो भएको बताएका छन् । सोमबार राती देखि भईरहेको वर्षातका कारण व्यापारी तथा उपभोक्ताले सास्ती खेप्नु परेको थियो । मंगलबार लागेको हाटमा व्यापारीहरुले पाल टाँगेर व्यापार गरेका थिए ।


Comments
Post a Comment