राजापुर क्वारेन्टाईनमा बाहिरबाट आउने बढ्दै




शक्ति परियार १७,चैत्र/बर्दियाको राजापुरमा जिल्ला तथा छिमेकी मुलक भारतबाट आउनेहरु बढ्दै गएका छन् । सरकारले जारी गरेको होम लकडाउनको अवधी ७ दिन थप गरिएपछि जिल्ला भन्दा बाहिरबाट आउनेहरुको संख्या बढ्दै गएको हो । राजापुर क्षेत्रबाट काठमाडौं,पोखरा,स्याङ्गजा,बुटवल,नेपालगंज,सुर्खेत,नवलपरासी लगायतका स्थानमा काम गर्न गएकाहरु लकडाउनको अवधी थप गरिएपछि खाई नखाई गरी घर फर्किने क्रम बढेको छ ।     विश्वभर महामारीको रुप लिइरहेको नोवेल कोरोनाको उच्च सतर्कता अपनाउँदै व्यापारी तथा स्थानीयले अन्यत्रबाट आउनेहरुदेखि टाढा बस्न थालेपछि यात्रुहरुलाई निकै नै सास्ती खेप्नु परेको छ ।
    राजापुर क्षेत्रमा अन्यत्रबाट आएकाहरुलाई राजापुर नगरपालिका स्थित क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको राजापुर स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी दिनु भयो । सोमबार लकडाउनको सातौं दिन मात्रै २ सय ५० भन्दा बढिको संख्यामा नागरिकहरु राजापुर क्षेत्रमा प्रवेश गरेका छन् । लकडाउन भइरहेका बेला अन्यत्र कामका लागि गएका राजापुर क्षेत्रका बासीहरुलाई घरसम्म पु¥याउने व्यवस्था गरिएको प्रदेश नं.५ का साँसद दिपेश थारुले बताउनु भयो । बाहिरबाट आउने नागरिकहरुलाई राजापुर क्वारेन्टाइनमै आउन वा सम्बन्धित निकायले पठाउनमा सहयोग गरिदिन स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनु भयो । बाहिरबाट आउनेहरु क्वारेन्टाईनमा नआई आफ्नै वडामा प्रवेश गर्न लागेपछि चेक जाँचका लागि असहज वातावरण सिर्जना हुने प्रमुख अर्यालले बताउनु भयो ।     राजापुर क्वारेनटाइनमा २९ वेड राखिएको छ भने प्राथमिक स्वास्थ्य केन्द्रमा ६ वटा आइसोलेसन बेड राखिएको छ । लकडाउनको सातौ दिन भारतबाट आएका ६ जना र नेपालगंजबाट आएका ६ जनालाई क्वारेनटाईनमा राखिएको छ । राजापुर क्वारेन्टाइनमा खान बस्न र नियमित चेकजाँचको उचित प्रबन्ध रहेको प्रमुख अर्यालले बताउनु भयो । क्वारेन्टाईनमा आएका नागरिकहरुलाई प्रमुख अर्याल र क्वारेन्टाईन इन्चार्ज दिपक शर्माले स्वास्थ्य परिक्षण परामर्श दिने कार्य गरिरहनु भएको छ । बाहिरबाट आउने नागरिकहरुलाई खान र बस्नका लागि कुनै समस्या नभएको र आफुहरु दिनरात क्वारेन्टाइनमै खटेर सेवा दिइरहेको क्वारेनटाईन इन्चार्ज दिपक शर्माले बताउनु भयो ।
    क्वारेनटाईनमा नेपाल भित्रै बाट आएकाहरुलाई चेकजाँच तथा परामर्श सहित घर पठाउने कार्य भइरहेको छ भने भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेनटाइनमै राखिने भएको प्रमुख अर्यालले बताउनु भयो ।

Comments