बंगुरपालन पालेर वार्षिक १५ लाख आम्दानी

शक्ति परियार । राजापुर विगतका दिनहरुमा पश्चिम कणर्ाली नदिमा माछा मार्ने तथा सुन चालेर जिविको पार्जन गर्ने समुदाय हो सोनाहा । राज्यबाट पछाडी पारिएको यो समुदाय बासी अशिक्षित र ठुलो संख्या नभएका कारण राज्यबाट पाउने सेवा सुविद्याहरुबाट बञ्चित हुँदै आएको छ । तर,कर्म गरे पछि पक्कै पनि एक न एक दिन सफल भईन्छ भन्ने विश्वास राख्छन् राजापुर नगरपालिका वडा नं.१ हिमालीपुरका बलबहादुर सोनाहा ।विगतका वर्षहरुमा माछा मार्ने तथा सुन चालेर परिवारको लालन पालन गर्दै आएका बलबहादुरले सानो लगानीबाट बंगुरपालन व्यवसायलाई अँगाले । विगत ९ वर्ष देखि बंगुरपालन व्यवसाय गर्दै आएका बलबहादुर भन्छन्—‘ अँझ धेरै बंगुर राख्ने चाहाना छ,तर ठुलो लगानी लगाउन सकिएको छैन।’। उनी भन्छन—‘ रिन माग्न  बैंकमा जाँदा पनि धितो माग्छन्,आफुसंग धितो राख्नलाई जमिन छैन ।’ सोनाहा समुदायमा अरु भन्दा फरक विचार भएका बलबहादुरले आर्थिक अवस्था कमजोर रहेपनि यो व्यवसायबाट सन्तुष्ट रहेको बताउँछन् । सुरुमा व्यवसाय गर्न निकै चुनौती रहेको उनी भन्छन् । उनले हिमालीपुर स्थित सोनाहा विकास समाजले निर्माण गरेको व्यवसायिक फर्म भाडामा लिएर ३६ वटा बंगुर पाल्न सुरु गरे ।   यो फर्ममा दिउरोक,ल्यानडे्रस,पाखरी बास,हेम्पसायर र यार्कसायर गरी ५ वटा छुट्टाछुट्टै जातीका बंगुरबाट वार्षिक १५ लाख रुपैया आम्दानी गर्ने गरेको उनको भनाई रहेको छ ।  उनले मासुका लागि नभई बंगुरका पाठाहरु विक्रि गर्ने गरेका छन् । प्रति पाठा ५ हजारका दरले विक्रि गरेर उनले वार्षिक १५ लाख रुपैयाँको आम्दानी गरी रहेका हुन् । बलबहादुर भन्छन् —‘ पाठाका लागि मात्रै नभई मासुका लागि पनि अबको केही दिनमै अरु थप बंगुरहरु ल्याउने तयारीमा छु ।’ बंगुरले वर्षेनी ३ पटक सम्म पाठालाई जन्माउने गर्दछ ।     सुरुमा पाठाहरु विक्रि गर्न गाह्रो भयो तर विस्तारै सबैले थाहा पाएपछि घरमै आएर खरिद गर्न लागे । ग्राहकहरुले घरमै आएर अग्रिम अर्डर दिने गरेका छन्,बंगुरले पाठा दिएपछि ग्राहकले लिने गरेका छन् उनले भने । यो व्यवसायबाट परिवारका सबै सन्तुष्ट रहेको उनको भनाई छ ।

Comments