'श्रमिक महिलाहरुले अधिकार पाउन सकेका छैनन' - चौधरी
मिन अधिकारी । राजापुर
बर्दिया जिल्ला समन्वय समितिका सदस्य शान्ति चौधरीले नेपालमा नारी दिवस मनाउने गरेता पनि धेरै श्रमिक महिलाहरु अधिकारबाट वञ्चित हुँदै आएको बताउनु भयो । दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने महिलाहरुले श्रम गरे बापत समेत ज्याला पाउने गरेका छैनन बरु शोषण सहनु परेको चौधरीले बताउनु भयो ।
सोमबार राजापुरमा महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो। राजपुरमा विभिन्न कार्यक्रम गरी महिला दिवस मनाइएको छ । राजापुर नगरपालिका महिला वालवालिका तथा समाज कल्याण उपशाखा राजापुरद्वारा आयोजित कार्यक्रममा कमैया महिला जागरण समाज सुआहारा, गुड नेभर इन्टरनेसनल, बाँके युनेस्को क्लब, वी ग्रुप नगरस्तरीय महिला संजाल नारी जागरण समाजको साझेदारी रहेको थियो । कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका विशेष अतिथि धर्मराज न्यौपानेले समाज, राष्ट्र र विश्व निर्माण गर्न आमाहरुको भूमिका महत्वपूर्ण रहेको औल्याउदै आजको दिन ल्याउनका लागि सम्पूर्ण आमाहरुले विशेष योगदान दिएको बताउनु भयो । राजापुर क्षेत्रमा महिलाहरुका धेरै समस्याहरु रहेको वताउदै समस्या समाधान गर्न नगरपालिकाबाट संवोधन गर्न सकिने र आफुले सकारात्मक भूमिका खेल्ने भन्नु भयो । नगर उपप्रमुख तथा कार्यक्रमका सभापति मनकला कुमारी चौधरीले महिलाहरुको हब अधिकारका लागि धेरै चुनौतिहरुको सामना गर्दै महिलाहरु आजको अवस्थामा आईपुगेको र आजको दिनलाई हामी सबै महिलाहरुले महत्वपूर्ण उत्सवको दिनका रुपमा लिनुपर्ने वताउदै कार्यक्रममा सहयोग गर्ने सबै राजनीतिक दल, कर्मचारी, संघ संस्था र सञ्चार माध्यमलाई धन्यवाद दिदै समापन गरिएको कार्यक्रममा महिला हिंसा न्युनीकरण सम्बन्धि नाटक मञ्चन सहित स्थानीय भेषभूषा धल्काउने नृत्य, गित गजल प्रस्तुत गरिएको थियो । सरस्वती सामुदायिक वनको मैदानमा गरिएको कार्यक्रममा यस क्षेत्रका महिला दिदी बहिनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Comments
Post a Comment