गेरुवा गाउँ पालिकाका किसानलाई कृषि सामग्री वितरण


गेरूवा १२,असार/ गेरुवा गाउँ पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना राजापुरले कस्टम हायरिङ्ग सेन्टरका लागि मेसिनरी औजारहरु हस्तान्तरण गरेको छ । गेरुवा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना र सिता कृषक समुह बेलभरिया ६ को त्रिपक्षीय सम्झौता अनुसार ३० लाख २८ हजार ४ सय २९ रुपैयाँ बराबरको कृषि सामाग्री पालिकाका अध्यक्ष जमान सिंह केसीले हस्तान्तरण गर्नुभएको हो ।
अनुदान प्राप्त १५ लाख,सिता कृषक समुहको १५ लाख २८ हजार ५ सय रुपैयाँको लगानीबाट ट्याक्टर,धान रोप्ने मेसिन,सिटड्रील,बीडर,पावर स्प्रेसर,सिम्पल लेवलर,लेजर ल्यान्ड,लेवलर,रोटा बेटर,कल्टिवेटर,हाइरो,बन्ड मेकर,बीउमल छर्ने झोला मेसिन,ड्रम सिडर र थ्रेसर गरी १÷१ थान हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा गेरुवा गाउँ पालिकाका अध्यक्ष जमान सिंह केसी, प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजनाका संचालक समितिका अध्यक्ष अग्नी प्रसाद अर्याल,सुपरजोनका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत डा.तपेन्द्र शाह,संचालक समितिका उपाध्यक्ष पहारी थारु लगायतको उपस्थिती रहेको थियो ।
राजापुर क्षेत्रमा चैतेधान खेती गर्ने कृषकहरुलाई केन्द्रित गरी चैतेधानको खेती विस्तार गर्ने उद्देश्यका साथ समुहको माग अनुसार व्यवसायी कृषि समुहहरुलाई मेसिनरी औजार प्रदान गरिएको अधिकृत डा.शाहले बताउनु भएको छ ।
सामाग्री हस्तान्तरण गर्दै गेरुवा गाउँ पालिकाका अध्यक्ष जमान सिंह केसीले आफ्नो पालिकामा चैतेधान खेतीको उत्पादन राम्रो भएकोले सबै कृषकहरुले २ बाली धान लगाउन आग्रह गर्दै कृषि क्षेत्रमा पालिकाले लगानी गरिरहेको र कृषकलाई प्रोत्सानका कार्यक्रमहरु संचालन समेत गर्ने बताउनु भएको छ ।

Comments