रुकुममा भएको सामुहिक हत्या काण्डको,गेरुवा गाउँपालिकामा सामुहिक विरोध
दोषीलाई हदैसम्म कारवाहीको माग
रञ्जना परियार
गेरुवा २६,जेष्ठ / ‘मान्छे मान्छे विच हुने जातीय भेदभावको अन्त्य गर,रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदै सम्मको कारवाही गर भन्ने’ मुल नाराका साथ बर्दियाको गेरुवा गाउँपालिका स्थित नेपाल दलित विद्यार्थी संघ जिल्ला कार्य समिति ,दलित जन जागरण संघ गुप्तीपुर, लोहारपुर, सोनाहाफाँटा, दलित सेवा संघ,अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघ बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाले रुकुम हत्या काण्ड विरुद्ध संयुक्त विरोध कार्यक्रमको आयोजना गरेको छ ।
गत जेठ १० गते शनिबार दिन पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती निवासी सुस्मा मल्ल र भेरी गंगा नगरपालिका ४ रानागाउँ जाजरकोटका नवराज विकको लामो समयको प्रेम सम्बन्ध पछि प्रेमिकाकै सहमतिमा विवाहका लागि साथी सहित केटी लिन गएका ६ यूवाहरुको निर्मम सामुहिक हत्या गरी भेरी नदिमा फालिएको घटनाले विकराल रुप लिईरहेको हो ।
कार्यक्रममा सहभागीहरुले रुकुम घटनाले संघीय लोकतान्त्रिक गणतन्त्रात्कमक राज्यको ठाडै खिल्ली उडाएको भन्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी समक्ष आफ्ना माग पत्रहरु समेत बुझाएका छन् । मुलुकमा कानुनी रुपले जातीय छुवाछुतलाई बर्जित गरिएता पनि व्यवहाररत दलित स्वतन्त्रता र मुक्तिको सवाल अझैं पनि पेचिलो बनिरहेको ,वर्षौ देखि उत्पीडनको शिकार बन्दै आएको यो समुदाय प्रति राज्य गम्भीर बन्न नसक्दा जातीय विभेदका यि यस्ता घटनाहरुमा सत्ता,शक्ति र राजनितिक आडमा दोषीहरु उम्किने गरेकाले यस्ता घटनाहरु बारम्बार दोहोरी रहेकोले दोषीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।
जातिय विभेद र छुवाछुतको कारणले घटाइएको सो हत्याकाण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान,विद्यमान ऐन कानुन,राष्ट्रिय अन्तराष्ट्रिय मानवअधिकार तथा मानवीय कानुनको सिधै उल्लंघन भएको सहभागीहरुको भनाई छ । कानुनी रुपमा जातिय विभेद र छुवाछुत मुक्त भनि घोषणा भईसक्दा पनि यी यस्ता घटनाहरु भने बारम्बार दोहोरि रहनु राज्यलाई नै चुनौती रहेको भन्दै पिडितहरुले उचित न्याय पाउनु पर्ने सहभागीहरुको माग रहेको छ ।
कार्यक्रममा गेरुवा गाउँपालिका दलित हकहित समितिका अध्यक्ष लक्षीराम विक,उपाध्यक्ष लोकेन्द्र तिरुवा,नेपाल विद्यार्थी संघ बबई बहुमुखी क्याम्पस गुलरियाका खगेन्द्र विश्वकर्मा लगायतको सहभागिता रहेको जनाइएको छ ।


Comments
Post a Comment