राजापुरमा मासु काट्ने ठाउँ व्यवस्थित नहुँदा दुर्गन्ध फैलिंदै


शक्ति परियार । राजापुर

बढ्दो विकास सँगै हुलाकी राजमार्गमा जमीन खरीद गर्ने तथा घर बनाउनेहरुको संख्या बढ्दै गएको छ। तर वातावरण स्वच्छता नभएपछि स्थानीयलाई असहज समेत हुने गरेको छ । बजारको फोहोर मैलाले हुने दुर्गन्ध त छँदै छ त्यसैमा मासु काट्ने स्थान व्यवस्थित नभएपछि हुने दुर्गन्ध ले वातावरण नै असन्तुलित बनाई दिन्छ । यस्तै बर्दियाको राजापुरमा मासु काट्ने ठाउँ व्यवस्थित नहुँदा दुर्गन्ध फैलिंदै गएको छ । पछिल्लो समयमा राजापुर बजार देखि ५ सय मिटर पश्चिम कर्णाली नदी किनारामा व्यापारीहरूले मासु काट्दै आएका छन्। वर्षातको समय भएका कारण मासु काट्ने स्थानमा पानी भरिएपछि दुर्गन्ध फैलिएको हो । राजापुरमा कुखुरा ,खसी, बोका लगायतको मासु सजिलै काट्न मिल्ने भए पनि राँगाको मासु काट्ने निश्चित स्थान नभएका कारण दुर्गन्ध फैलिएको हो। मासु काट्ने क्षेत्र निश्चित नभएपछि व्यापारीहरुलाई मर्का त छ नै आवत जावत गर्ने स्थानीयलाई समेत हिँडडुल गर्न असहज भएको छ । 


राजापुर बजार देखि नजिकै रहेको सत्ती घाट पुल सम्म पुग्न श्वास फेर्न समेत गारो हुने गरेको स्थानीयको गुनासाे रहेको छ। राजापुर स्थित रहेको पवित्र धार्मिक स्थल शिव मन्दिर परिसर सम्म दुर्गन्ध फैलिंदै गएपछि स्थानीय लाई श्वास लिन समेत गारो भएको स्थानीय अनिल चौधरीले बताए । स्थानिय सरकारले मासु काट्ने ठाउँको उचित प्रबन्ध मिलाउनु पर्ने यहाँका सर्वसाधारणको दुखेसो रहेको छ । त्यस्तै मासु काट्ने ठाउँ व्यवस्थित नहुँदा व्यापारीहरूले मनोमानी रूपले स्थान परिवर्तन गरी रहेको समेत स्थानीयबासीको गुनासाे रहेको छ ।

Comments